पोखरा । राष्ट्रिय 'ए' डिभिजन फुटसल लिग अन्तर्गत आज शनिबारबाट आठौं चरणको खेलहरु सुरु हुँदैछ ।
आठौं चरणको खेल अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् ।
पोखराको बहूदेशीय कभर्डहलमा हुने पहिलो खेलमा द राइजिङ क्लब धरान र लुम्बिनी फुटसलबीच प्रतिस्पर्धा हुनेछ ।
द राइजिङ र लुम्बिनीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
द राइजिङ १३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । उसका मुख्य खेलाडीमा सचिन श्रेष्ठ, दिवस मास्के, हेमन्त थापा मगर र मिलन राई रहने छन् ।
लुम्बिनी ४ अंक जोडेर नवौं स्थानमा रहेको छ । लुम्बिनी रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको छ । त्यसैले मछिन्द्र स्काईविरुद्ध लुम्बिनी पनि जितकै खोजीमा हुनेछ ।
उसका मुख्य खेलाडीमा राफी महर्जन, अन्जन थापा र रुपेन बराइली रहेका छन् ।
दोस्रो खेलमा फुटसल फाइभ धरान र स्पोर्ट्स क्यासल पोखराबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ४:३० बजे सुरु हुनेछ ।
स्पोर्ट्स क्यासल जारी लिगमा अपराजित रहेको छ । ७ खेलमा ६ जित र १ बराबरीसहित १९ अंक जोडेको स्पोर्ट्स क्यासल शीर्ष स्थानमा रहेको छ।
स्पोर्ट्स क्यासल अपराजित यात्रालाई कायम राख्न चाहन्छ । फुटसल फाइभविरुद्ध उसका बिष्णु पौडेल, बिजय गुरुङ, खिम राज गुरुङ, सुमित श्रेष्ठ र सुरज गुरुङ जस्ता खेलाडीको साथ हुनेछ ।
फुटसल फाइभ १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । उसले ४ जित र दुई बराबरी खेल्दा १ हार व्यहोरेको छ ।
फुटसल फाइभ आज स्पोर्ट्स क्यासललाई पहिलो हार चखाउने योजनामा हुनेछ । फुटसल फाइभसँग सन्जिब तामाङ, बिजय श्रेष्ठ, सन्दीप कार्की, सरोज तामाङ जस्ता खेलाडीको साथ रहेको छ ।
लिगमा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।