पोखरा । स्पोर्ट्स क्यासल पोखराले राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा जित निकालेको छ ।
पोखराको बहूदेशीय कभर्डहलमा शुक्रबार भएको पोखरा डर्बीमा स्पोर्ट्स क्यासलले सबिन मेमोरियल एफसीलाई २-० गोल अन्तरले हराएको हो ।
स्पोर्ट्स क्यासलको जितमा सुरज गुरुङ र किशोर गुरुङले एक एक गोल गरे ।
खेलमा स्पोर्ट्स क्यासलका विश्वास पौडेल म्यान अफ दि म्याच चुनिए ।
यस जितसँगै स्पोर्ट्स क्यासलले ६ खेलमा १९ अंक जोडेको छ ।
अपराजित रहेको स्पोर्ट्स क्यासल शीर्ष स्थानमा रहेको छ ।
सबिन १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
जितपछि स्पोर्ट्सका प्रशिक्षक बिष्णु गुरुङले अब फाइनलको लागि ध्यान केन्द्रित गर्ने बताए ।
'हामीलाई थाहा थियो की यो किने कठिन खेल हुनेछ । हामीले केटाहरुलाई निर्देशन दिएर खेलेका थियौं । अब फाइनलका लागि ध्यान केन्द्रित गर्नेछौँ,' उनले भने ।
सबिनका प्रशिक्षक राजेन्द्र तामाङले मुख्य स्ट्राइकर अविनाश तामाङको चोटले गर्दा खेलमा गार्हो भएको बताए ।
'हाम्रो लक्ष्य भनेको अंक बाड्ने थियो । हामीले दुई गोलको कल्पना गरेका थिएनौं । हाम्रा मुख्य स्ट्राइकर अविनाशको चोटले हामीले खेल गुमायौं,' उनले भने ।
जारी लिगमा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।