काठमाडौं । फेडेरेशन इन्टरनेशनल डे अटोमोबाइल (एफआईए) को रिजन-२ (एशिया प्याशिफिक) कार्यकारी समितिमा नासा नेपाल निर्वाचित भएको छ ।
बुधबार भर्चुअलमार्फत भएको निर्वाचनमा एए भियतनामका ग्रेग क्राफ्ट अध्यक्ष तथा तीन उपाध्यक्षहरुमा फेडेरेशन अफ इण्डियन अटोमोबाइल एसोसिएसन, अटोमोबाइल्स् एसोसिएसन अफ सिँगापुर तथा इकितान मोटर इन्डोनेशिया विजयी भएका छन् ।
त्यसैगरी, सचिवमा अष्ट्रेलियन अटोमोबाइल एसोसिएसन र कोषाध्यक्षमा नेपाल अटोमोबाइल्स् एसोसिएसन (नासा नेपाल) निर्वाचित भएको हो । संसारकै ठूला मोटरिस्ट अर्गनाइजेसन एपआईएको मोबिलिटि र स्पोर्टस गरी दुई क्षेत्र रहेका छन् । त्यसै रिजन-२ मा न्यूजिल्याण्ड देखि मध्य एसिया सम्मका २५ राष्ट्रिय संघहरु आवद्घ छन् ।
एफआईएको विधान अनुसार एउटा देशमा स्पोर्टस र अटोमोबाइल मोविलिटि एण्ड टुरिजम गरी दुई वा दुईभन्दा ज्यादा सदस्य संघ बन्न सक्नेछन् भने नेपालमा नासा नेपाल दुवै क्षेत्रको सदस्य संघ हो । नासा नेपालको तर्फबाट सो निर्वाचनमा सहभागी भएका पूर्व महासचिव गोविन्द भट्टराईले सो समितिमा प्रतिनिधित्व गर्ने छन् ।