काठमाडौं । ईपीएल रमाइलो नेपाल नामक फेसबुकको फुटबल समूहले विभागीय टोली एपीएफ क्लबका पूर्व खेलाडी तथा महिला टोलीका प्रशिक्षक नर कुमार राईलाई सम्मान गरेको छ।
ईपीएल रमाइलोले शनिबार ट्रान्जिट स्पोर्टस बार, माइतीघरमा राईलाई सम्मान गरेको हो ।
यस्तै ईपीएल रमाइलोले ब्लड क्यान्सर रोगसँग लडिरहेकी आफ्नी एक मात्र सन्तान छोरी कसुमीको उपचारका लागि ५० हजार प्रदान गरेको छ ।
विगत दुई वर्षबाट उनको छोरी कसुमी राई कान्ति बाल अस्पताल महाराजगन्जमा उपचारपछि अहिले औषधिको सहारामा तंग्रिने प्रयासमा छिन् ।
नेपाली महिला राष्ट्रिय टोलीका धेरैजसो खेलाडीलाई चर्चाको शिखरमा पुर्याउन पर्दा पछाडि प्रशिक्षकको रुपमा राईले ठुलो योगदान दिएका छन् ।
२०५७ सालमा शसस्त्र प्रहरीको जवान पदमा भर्ना भई २०६१ सालमा एपीएफ टिमबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका राईले पहिलो पटक एपिएफले महिला फुटबल टिम बनाउँदा प्रशिक्षणको जिम्मा पाउन सफल भएका थिए।
त्यस बेला नेपाली राष्ट्रिय टिमकी कप्तान जमुना गुरुङ, अनु लामा, भगवती थापा देखी हालका चर्चित खेलाडी साबित्रा भण्डारी साम्बा, एन्जिला तुम्बापो सुब्बा, सरु लिम्बु, अनिता बस्नेत,गीता राना,हाल राष्ट्रिय टिम कप्तान रेनुका नगरकोटी, जस्ता धेरै मोफसलबाट खारिएका र केही राजधानीका खेलाडीहरूलाई राईले नै बिभाग्य टिममा भित्राएर निखारेका थिए।