पोखरा । राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा धरानको द राइजिङ क्लबले पहिलो हार व्यहोरेको छ ।
पोखराको बहूदेशीय कभर्डहलमा शुक्रबार संखमुल फुटसलसँग ५-२ गोल अन्तरले पराजित हुँदै राइजिङले पहिलो हार व्यहोरेको हो ।
संखमुलको जितमा क्रिजल खड्काले दुई गोल गरे । अरुज सिंह, मणि लामा र सुसान श्रेष्ठले एक एक गोल गरे ।
राइजिङका नगेन राई र सुदिप गुरुङले एक एक गोल फर्काए ।
संखमुलका मणि लामा प्लेयर अफ दि म्याच चुनिए ।
संखमुलसँग पराजित भएपनि राइजिङ शीर्ष स्थानमा रहेको छ ।
राइजिङले ४ खेलमा ९ अंक जोडेको छ । राइजिङले अघिल्ला तीन खेलमा लगातार जित निकालेको थियो ।
संखमुलको यो दोस्रो जित हो । संखमुलले ४ खेलमा ८ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ ।
लिगमा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।