काठमाडौं । नेपाल ओलम्पिक कमिटीले आफ्ना पूर्व अध्यक्ष तथा मानार्थ अध्यक्ष रुक्म शमशेर राणाको स्मृतिमा बुधबार शोक सभाको आयोजना गरेको छ ।
राणाको निधन भएको १३ औं पूण्य तिथिका अवसरमा कमिटीले सातदोबाटो श्रद्धान्जली कार्यक्रम गरेको हो । राणाको भदौ २५ मा निधन भएको थियो ।
राणा सन् १९९८ देखि २००७ सम्म कमिटीको अध्यक्ष रहेका थिए । उनले राष्ट्रिय खेलकुद परिषद, फुटबल, तेक्वान्दो, एथलेटिक्स र स्कि संघका नेतृत्व पनि सम्हालेका थिए ।
शोक सभा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली ओलम्पिक आन्दोलनमा राणाको ठूलो योगदान रहेको बताउँदै नेपाली खेलकुदमा ओलम्पिक आन्दोलनको मान्यता स्थापित गर्ने श्रेय उहाँलाई जानु पर्ने बताए ।
‘नेपाली ओलम्पिक आन्दोलन यहाँसम्म आइपुग्नुमा सबैभन्दा ठूलो योगदान राणाकै छ,’ श्रेष्ठले भने ।
कमिटीमा सल्लाहकार तथा पूर्व मन्त्री शरतसिंह भण्डारी राणा नेपाली खेलकुदको असल अभिवावक रहेको बताए ।
यस्तै परिवारको प्रतिनिधित्व गर्नु हुँदै अनिलकेशरी शाहले नेपाली खेलकुद र खेलाडीप्रति राणाको असाध्यै माया रहेको बताए ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले नेपाली तेक्वान्दोको विकासमा उहाँ अतुलनीय योगदान रहेको बताए ।
यस्तै कमिटीका महासचिव निलेन्द्र श्रेष्ठले दिवंगत राणा नेपालमा विवादरहित खेलकुद चाहनु हुने बताए । उनले भने ‘नेपाली खेलकुद एकजुट भएर अगाडि बढ्छ भने त्यो नै राणाप्रति सच्चा श्रद्धान्जली हुनेछ ।’
कार्यक्रमका अवसरमा राणाको परिवारका सदस्यको उपस्थिति थियो । यस्तै कमिटीका प्रमुख पदाधिकारी, विभिन्न कमिटीका अध्यक्ष, खेल संघका अध्यक्ष र सदस्यको कार्यक्रममा उपस्थिति थियो ।
कार्यक्रमको सुरुमा दिवंगत राणाको सम्झनामा एक मिनेट मौन धारण पनि राखिएको थियो ।