पोखरा । फुटसल फाइभ धरानले राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा पहिलो जित निकालेको छ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार ढुकु फुटसल हबलाई ५-३ गोल अन्तरले पराजित गर्दै फुटसल फाइभले पहिलो जित निकालेको हो ।
फुटसल फाइभको जितमा प्रवेश जोशीले दुई गोल गरे । कप्तान सन्दीप कार्की, सरोज तामाङ र रञ्जित गुरुङले एक एक गोल गरे ।
ढुकुका अमित लामा, अभय राना र विक्रान्त नरसिंह राणाले एक एक गोल गरे ।
खेलको म्यान अफ दि म्याच फुटसल फाइभका गोलकिपर सन्जिब तामाङ चुनिए ।
यस जितसँगै फुटसल फाइभले २ खेलमा ४ अंक जोडेको छ । फुटसल फाइभले पहिलो खेलमा संखमुल फुटसलसँग बराबरी खेलेको थियो ।
ढुकुको यो पहिलो हार हो । ढुकुले पहिलो खेलमा सबिन मेमोरियललाई हराएको थियो । ढुकुले २ खेलमा ३ अंक जोडेको छ।
लिगमा १० टिमको सहभागिता रहेको छ ।
आजै हुने दोस्रो खेलमा स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।