पोखरा । राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा सबिन मेमोरियल एफसीले पहिलो जित निकालेको छ ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार लुम्बिनी फुटसललाई ३-२ गोल अन्तरले पराजित गर्दै सबिन मेमोरियलले पहिलो जित निकालेको हो ।
सबिनको जितमा अविनाश तामाङ, सरोज गुरुङ र मनिष क्षेत्रीले एक एक गोल गरे ।
लुम्बिनीका हेमन्त गुरुङले दुई गोल फर्काए ।
खेलमा सबिनका सबिन गुरुङ म्यान अफ दि म्याच चुनिए ।
यस जितसँगै सबिनले २ खेलमा ३ अंक जोडेको छ ।
पहिलो खेलमा सबिन ढुकु फुटसल हबसँग ८-६ गोल अन्तरले पराजित भएको थियो ।
लुम्बिनीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा लुम्बिनीले झरना स्पोर्ट्स क्लबलाई ६-२ गोल अन्तरले पराजित गरेको थियो ।
लिगमा १० टिमको सहभागिता रहेको छ ।
आजै हुने दोस्रो खेलमा स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।