पोखरा । ढुकु फुटसल हबले राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा विजयी सुरुवात गरेको छ ।
पोखराको बहूदेशीय कभर्डहलमा आइतबार भएको खेलमा ढुकुले पोखराको सबिन मेमोरियल एफसीलाई ८-६ गोल अन्तरले पराजित गर्दै ढुकुले सुखद सुरुवात गरेको हो ।
ढुकुको जितमा उर्केन शेर्पा, अभय राना र विक्रान्त नर सिंह राणाले २/२ गोल गरे । अतित लामा र पेमा नोर्बु लामाले एक एक गोल गरे ।
सबिन मेमोरियलका अविनाश तामाङ र मनिष क्षेत्रीले २/२ गोल गरे । सुनिल बिके र सरोज गुरुङले एक एक गोल गरे ।
खेलमा ढुकुका उर्केन म्यान अफ दि म्याच चुनिए ।
लिगमा १० टिमको सहभागिता रहेको छ ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।
एन्फाले यस प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन गरिने जनाएको छ।
उक्त टोलीले एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता खेल्ने छन् ।