पोखरा । लुम्बिनी फुटसल रुपन्देहीले राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा विजयी सुरुवात गरेको छ ।
पोखराको बहूदेशीय कभर्डहलमा आइतबार भएको खेलमा रुपन्देहीकै झरना स्पोर्ट्स क्लबलाई ६-२ गोल अन्तरले पराजित गर्दै लुम्बिनीले सुखद सुरुवात गरेको हो ।
लुम्बिनीको जितमा रुपेन बरालीले दुई गोल गरे । अन्जन थापा, गेली शेर्पा, रेफी महर्जन, रोजल दाहालले एक एक गोल गरे ।
झरनाका मोहन बहादुर थापा र अमित गुरुङले एक एक गोल फर्काए ।
लिगमा १० टिमको सहभागिता रहेको छ ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।
एन्फाले यस प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन गरिने जनाएको छ।
उक्त टोलीले एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता खेल्ने छन् ।