पोखरा । धरानको द राइजिङ क्लबले राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा विजयी सुरुवात गरेको छ ।
पोखराको बहूदेशीय कभर्डहलमा शनिबार भएको उद्घाटन खेलमा राइजिङले स्काई गोल काठमाडौंलाई ५-४ गोल अन्तरले पराजित गर्यो ।
राइजिङको जितमा रेवोस मास्केले दुई गोल गरे । यस्तै मिलन लिम्बु, दोर्जे तामाङ र सुदिप गुरुङले एक एक गोल गरे ।
स्काईका श्री कृष्ण श्रेष्ठले ह्याट्रिक गोल गरेपनि टिमको हार टार्न सकेनन् ।
यस्तै आसिश सुनामको नाममा एक गोल रह्यो ।
खेलमा सुरुवाती अग्रता स्काईले बनाएको थियो । १३ औं मिनेटमा श्री कृष्णले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। श्री कृष्ण फुटसल लिगमा गोल गर्ने पहिलो खेलाडी समेत बने ।
२१ औं मिनेटमा दोर्जेले गोल गर्दै राइजिङलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको २२ औं मिनेटमा मिलन लिम्बु र सुदिप गुरुङले गोल गर्दै राइजिङले ३-१को अग्रता बनायो ।
२५ औं मिनेटमा रेवोसले गोल गर्दै राइजिङको अग्रता ४-१ को बनाए ।
खेलको २६ औं मिनेटमा आशिषले गोल गर्दै स्काईलाई ४-२ को स्थितिमा ल्याए ।
३० औं मिनेटमा श्री कृष्णले व्यक्तिगत दोस्रो गोल गर्दै स्काईलाई ४-३ को स्थितिमा ल्याए ।
३२ औं मिनेटमा रेवोसले व्यक्तिगत दोस्रो गोल गर्दा राइजिङ ५-३ ले अघि रह्यो ।
त्यसपछि खेलको ३५ औं मिनेटमा श्री कृष्णले ह्याट्रिक पूरा गरेपनि स्काई ५-४ ले पराजित भयो ।
लिगमा १० टिमको सहभागिता रहेको छ ।
आजै हुने दोस्रो खेलमा स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ । म्यान अफ दि म्याचले ५ हजार पाउने छन् ।
एन्फाले यस प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन गरिने जनाएको छ ।
उक्त टोलीले एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता खेल्ने छन् ।