काठमाडौं । खेल पत्रकारद्धय श्याम चित्रकार र जीतु साउद सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघको एसोसियट प्रदेश समितिले शुक्रबार धुलिखेलमा आयोजित प्रथम राष्ट्रिय सम्मेलनमा चित्रकार र साउदलाई सम्मान गरेको हो ।
एसोसियट प्रदेश समितिले ७० वर्ष उमेर पार गरेर सक्रिय पत्रकारितामा आबद्ध चित्रकारलाई पत्रकारिता सम्मान र साउदलाई कोराना संकट सक्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । दुवैले सम्मानसहित ताम्रपत्र प्राप्त गरेका थिए ।
कोरोना संकटमा सक्रिय पत्रकारिता गरेका खेलकुदबाट साउदसहित चलचित्रबाट रिना मोक्तान, कार्टुनबाट बिरोचन मल्ल ठकुरी, फोटोबाट चन्द्रबहादुर आले, आर्थिकबाट मेनुका कार्की, राजनीति तथा सामाजिकबाट गोबिन्द मरासिनी सम्मानित भए । सबैले सम्मान सहित १० हजार रुपैयाँ नगद प्राप्त गरे ।
कार्यक्रममा एसोसियट संस्थामा आबद्ध ७० वर्ष नाघेका पत्रकारलाई पनि सम्मान गरिएको थियो । जसमा चित्रकार सहित गेहेन्द्रमान अमात्य, मोहनश्याम खोकना र समज्ञ लाकौल सम्मानित भएका छन् ।
अर्थमन्त्री जनार्दन शर्मा मुुख्य अतिथी रहेको कार्यक्रममा पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले संकटपूर्ण अवस्थामा रहेको पत्रकारिता र सञ्चार संस्थामा राज्यको तर्फबाट दायित्व र भुमिका बढाउन आग्रह गरेका थिए ।
अर्थमन्त्री शर्माले पत्रकारको सुरक्षाका लागि राज्यले आवश्यक कदम चाल्ने आश्वासन दिएका थिए । विधागत पत्रकारिताको एजेण्डालाई संस्थागत ढङ्गले अघि बढाउन महासंघको एसोसियट प्रदेशले राष्ट्रिय भेलाको आयोजना गरेको हो ।
शनिबार एसोसियट प्रदेशको धुलिखेल घोषणा पत्र जारी गर्दै सम्मेलन सकिनेछ ।