काठमाडौं । राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा सहभागी हुने प्रभातफेरी युथ क्लब, टोखालाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले बुधबार बिदाइ गरेको छ ।
बागमती प्रदेशबाट छनौट भएको चार टोली मध्येमा परेको प्रभातफेरीका खेलाडी, अफिसियल तथा प्रशिक्षकलाई पूर्व मन्त्री एवं नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाश सरण महतले बिदाइ गरे ।
खेलाडीलाई बिदाइ गर्दै महतले उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदै विजयी हासिल गरेर फर्कन सुझाव दिए ।
उनले मानसिक र शारीरिक तन्दुरस्तीका साथै युवाहरुलाई समेटेर लोकतान्त्रिक माध्ययमले खेलकुदको विकास गर्ने उद्धेश्यले नेपाल लोकतान्त्रिक खेलकुद संघको स्थापना भएको बताए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सचिव मनिष जोशीले टोखाको नेतृत्व गर्दै प्रतियोगितामा सहभागीता जनाउन लागेका क्लब तथा खेलाडीहरुलाई शुभकामना दिंदै गजराज जोशीको जन्मस्थल र विभिन्न खेलमार्फत खेलाडी र खेलको विकास गर्दै आईरहेको बताउँदै खेलाडीहरुलाई विजयी भएर आउन बधाई दिए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका प्रमुख दीपक गुरुङले खेलाडीहरुलाई शुभकामना प्रदान गर्दै खेलाडीहरुलाई विजयी भएर आउन भन्दै विजयी भएर आएको खण्डमा खेलाडीहरुलाई उचित नगद पुरस्कारले सम्मान गर्ने बताए ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य लगायत बागमती प्रदेशका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।
असोज २ देखि २२ गते सम्म आयोजना हुने लिगका लागि बागमती प्रदेशबाट प्रभाफेरी युथ क्लब, टोखाका साथै ढुकु फुटसल चण्डोल, शंखमुल फुटसल र स्काई गोल्स, चक्रपथ छनोट भएका छन् ।
प्रभातफेरीको टिममा बिशाल सारुमगर (कप्तान), सुदीप पन्त, राज पौडेल, आलिग तामाङ, सन्तलाल गुरुङ, धिरज जोशी, श्रीजेश पुरी, सिजन गुरुङ, विवेक सारु मगर, सुविल श्रेष्ठ, सुनिल श्रेष्ठ, धीरज श्रेष्ठ, दिपेश श्रेष्ठ, आशिष गुरुङ रहेका छन् ।
यस्तै टिम ब्यवस्थापकमा कृष्ण राम श्रेष्ठ र टिम प्रशिक्षकमा सरोज थापा रहेका छन् ।