काठमाडौं । रुपन्देहीको लुम्बिनी फुटसललाई अल्फा विटा थिटा र लिनीङले प्रायोजन गरेको छ ।
पोखरामा आयोजना हुने राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा सहभागिता जनाउने लुम्बिनी फुटसललाई अल्फा विटाले मुख्य प्रायोजन गरेको हो । यस्तै लिनीङ प्रायोजकको रुपमा जोडिएको हो ।
लुम्बिनी फुटसलले बुधबार आइटी कम्पनि अल्फा विटा र खेल पोशाक उत्पादक कम्पनि लिनीङसँग सम्झौता गरेको छ ।
सम्झौतासँगै मुख्य प्रायोजक अल्फा विटाले लुम्बिनीलाई ४ लाख नगद उपलब्ध गराउने छ । लुम्बिनीले फुटसल लिगमा अल्फा विटाको लोगो अंकित जर्सी लगाउने छ।
यस्तै लिनीङले लुम्बिनी फुटसललाई २ लाख बराबरको जर्सी लगायत खेल पोशाक उपलब्ध गराउने छ ।
पोखराको बहूदेशीय कभर्डहलमा फुटसल लिग असोज २ गतेदेखि असोज २२ गतेसम्म आयोजना हुनेछ ।
लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
लिगमा लुम्बिनी फुटसलसहित फुटसल फाइभ धरान, द राइजिङ क्लब धरान, ढुकु फुटसल हब, संखमुल फुटसल, प्रभातफेरी युथ क्लब, स्काई गोल फुटसल, स्पोर्ट्स क्यासल, सबिन मेमोरियल फुटसल क्लब र झरना स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको थियो ।
एन्फाले यस प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन गरिने जनाएको छ ।
उक्त टोलीले एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता खेल्ने छन् ।