काठमाडौं । भक्तपुर एफसीले सी डिभिजन छनोट प्रतियोगितामा रेफ्रीले गम्भीर लापरवाही गरेको आरोप लगाएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भक्तपुर एफसीले गोल भइसकेको अवस्थामा अफसाइड दिएर रेफ्रीले गम्भिर लापरवाही गरेको आरोप लगाएको हो ।
क्लबले सो खेलको निर्णयको गम्भीर छानबिन गरेर दोषी उपर कडा कारबाही गर्न एन्फासँग माग गरेको छ ।
भक्तपुर एफसीले खेलको दौरान प्रोटेष्ट लागेका रेफ्री र क्लबबीच प्रष्ट रुपमा देखिएको फिक्सिङ्गका खेललाई खारेज गर्दै छानबिनको नतिजा नआएसम्म सो खेल रोक्न अपिल समेत गरेको छ ।
भक्तपुर एफसीका अध्यक्ष राम प्रजापतिले ठुलो लगानी गरेर छनोट प्रतियोगिता खेल्न आएको बताउँदै रेफ्रीको गलत निर्णयका कारण आफुहरु पीडित बनेको बताए ।
उनले अयोग्य रेफ्रीको निर्णयबाट खेलाडीको मनोबल गिर्ने, खेलाडीको भविष्यमा असर गर्ने र क्लबलाई समेत बर्बाद पार्ने उल्लेख गर्दै दोषी उपर कडा कारबाहीको माग गरेका छन् ।
गत शनिबार दिब्यश्वरी एफसीविरुद्धको खेलमा पाँचौ र आठौं मिनेटमा गोल भइसकेको अवस्थामा रेफ्रीले अफसाइड दिएर आफुलाई हराएको भक्तपुरको आरोप छ ।
क्लबले अफिसियल राजेश राउत र म्याच कमिस्नर अशोक मानन्धरलाई पटक पटक खबरदारी र जानकारी गराउँदा समेत गैरजिम्मेवारपुर्ण अभिब्यक्ति दिएर रेफ्रीको निर्णयलाई ढाकछोप गरेको आरोप लगाएको छ ।
एन्फाको सचिवालयमा घटनाबारे जानकारी गराउँदा संसारभर यस्ता निर्णय हुने जस्तो गैरजिम्मेवार अभिब्यक्ति आएकोमा क्लबले चित्त दुखाएको छ।
रेफ्रीको गलत निर्णयका कारण ठुलो लगानी सहित फुटबलमा आएको क्लबको हालत अझ बिकराल हुने भक्तपुर एफसीका अध्यक्ष प्रजापती बताउँछन् ।
काठमाडौंमा भएको सी डिभिजन छनोटमा खेल मिलेमतो र रेफ्रीको गलत निर्णयको चर्को विरोध भैरहेको छ । तर नियमनकारी निकाय मौन बस्दा ठुलो लगानी गरेर फुटबलमा आएका क्लबमाथि ठुलो अन्याय भएको छ ।