काठमाडौं । एनएसजेएफ खेल पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार मुकुन्द दाहाल र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट गोविन्द राज नेपाल सम्मानित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले २६ औं स्थापना दिवसको अवसरमा आइतबार दाहाल र नेपाललाई सम्मान गरेको हो । अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका मञ्चले हरेक वर्ष स्थापना दिवसमा यो कार्यक्रम गर्दै आएको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवाल, मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी लगायतले उनीहरुलाई सम्मान गरे ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले दाहाललाई २५ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गरे ।
त्यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले युवा पत्रकार नेपाललाई ल्यापटप, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मानित गरे । युवा पत्रकारिता पुरस्कार एसियाली खेलकुद पत्रकार महासंघबाट उपलब्ध गराएको हो ।
सम्मानित भएपछि अग्रज पत्रकार दाहालले स्थापना कालमा गरेको संघर्षको सम्झना गर्दे युवा पुस्ताले सम्मान गरेकोमा खुशी ब्यक्त गरे ।
यस्तै नेपालले पुरस्कारले पत्रकारिता यात्रा अगाडि वढाउन हौसला मिलेको बताए ।
उक्त अवसरमा प्रमुख अतिथी एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद पत्रकारिताको विकासमा मञ्चको भुमिकाको प्रशंसा गर्नुहु्रदै संस्थाले पत्रकारिता क्षेत्रमा अझ प्रगती गर्दे जान शुभकामना ब्यक्त गरे ।
राखेप सदस्य सचिव रमेशकुमार सिलवालले स्थापना दिवसका अवसरमा अनुज, अग्रजलाई सम्मान गर्ने परम्परा राम्रो रहेको बताए ।
उक्त अवसर नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले नेपाल खेलकुद पत्रकार मञ्च महासंघको सक्रिय एसोसियट सदस्यको रुपमा रहेको भन्दै प्रशंसा गरे ।
त्यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापाले नेपालको खेलकुद क्षेत्रमा एनएसजेएफको योगदान उल्लेखनिय रहेको बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले एनएसजेएफ एकेडेमीको माध्यमबाट खेलकुद पत्रकारको क्षमता अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुबेदी देबेन्द्रले खेलकुद पत्रकारिताको अभियानलाई सक्रिय राख्ने सन्दर्भमा मञ्चले सधै नेतृत्वदायी भुमिका खेल्ने विश्वास दिलाए ।
नेपाल खेलकुद पत्रकार मञ्चले भदौ २७ गतेलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । २०५२ सालमा नेपाल खेलकुद पत्रकार मञ्चको विधिवत रुपमा स्थापना भएको थियो ।
मञ्चले यसअघि एनएसजेएफ खेल पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार श्याम चित्रकार, अजय राणा, पी खरेल, पुष्करलाल श्रेष्ठ, गोपाल बस्नेत, सीताराम अग्रहरि, राजु शिलवाललाई सम्मानित गरिसकेको छ ।
सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट दिल तामाङ, निशान राई र संजय थापा सम्मानित भईसकेका छन् ।