काठमाडौं । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले विजय घलेलाई मताधिकार सहित एन्फा प्रतिनिधिको रुपमा साधारण सभामा पठाउने निर्णय गरेको छ ।
क्लबको शुक्रबार बसेको कार्य समिति बैठकले घलेलाई मताधिकार सहितको एन्फा प्रतिनिधि तोक्ने निर्णय गरेको हो ।
घले एन्फाको वर्तमान कार्यसमितिमा सदस्य छन् ।
एन्फाको आसन्न साधारण सभामा क्लबको प्रतिनिधित्वको विषयलाई लिएर क्लबभित्र चलखेल सुरु भएको थियो । सोही कारण क्लबले एन्फा साधारण सभाको टुङ्गो नलाग्दै विजय घलेलाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको बताइएकाे छ ।
गत चैत १० गते मनाङको नयाँ कार्यसमिति गठन भएको थियो । मुखिया गुरुङकाे नेतृत्वमा मनाङको नयाँ कार्यसमिति गठन भएकाे हाे।
क्लबका महासचिव तेन्जिङ्ग गुरुङले मताधिकार सहित एन्फाको आसन्न साधारण सभामा घलेलाई पठाउने निर्णय भएको बताए ।
‘विभिन्न एजेण्डामा छलफल गर्दा घलेलाई समेत मताधिकार सहित एन्फा साधारण सभामा पठाउने निर्णय भएको हो ।’ उनले खेलपाटीसंग भने ।
मनाङमा नयाँ कार्यसमिति आए लगत्तै घले एन्फाको प्रतिनिधि बन्ने पक्का–पक्की जस्तै थियो ।
कार्य समिति बैठकले आसन्न ए डिभिजन लिगको तयारी कात्तिक १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । नयाँ सिजनका लागि २५ खेलाडीलाई अनुबन्ध गरेकाे क्लबले एन्फामा खेलाडी दर्ता प्रकृयालाई अघि बढाउने निर्णय गरेको छ ।
बैठकले यस वर्ष ए डिभिजनका केही खेलहरु पोखरामा लैजानका लागि आवश्यक पहल गर्न एन्फालाई आग्रह गर्ने निर्णय गरेको छ ।
मनाङले पोखरा रंगशालालाई आफ्नो 'होम ग्राउण्ड' बनाउने आवश्यक सम्पुर्ण प्रक्रिया पुरा गरिसकेको छ । सोही अनुसार मनाङले ए डिभिजनका आफ्ना केही खेलहरु पोखरा लैजाने निर्णय गरेको हो ।