काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ओलम्पिक वरीयताको पाँचौं स्थानमा उक्लिएकी छिन् ।
मंगलबार सार्वजनिक नयाँ वरीयतामा पलेशा आफ्नो तौल समूहको शीर्ष पाँचमा उक्लिएकी हुन् । यस अघि पलेशा १३ औं स्थानमा रहेकी थिइन् ।
जापानमा जारी टोकियो पारालिम्पिकमा सहभागिता जनाएकी पलेशाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
पारालिम्पिकमा पलेशाले के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।
तर, रिपिचेजको फाइनलमा पराजित भएपछि पलेशा कास्य पदक जित्नबाट बन्चित भएकी थिइन् ।
गत शुक्रबार भएको रिपिचेजको फाइनलमा पलेशा चीनकी युजी लीसँग १२-९ ले पराजित भएकी भईन् ।
चिनियाँ खेलाडीलाई हराएको भए पलेशाले ऐतिहासिक पदक प्राप्त गर्ने थिइन् ।
नेपालले हालसम्म पारालिम्पिकमा पदक जित्न सकेको छैन।