काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री बालकृष्ण खाँड मैत्रीपूर्ण फुटबल खेल हेर्नका लागि दशरथ रंगशालामा उपस्थित भएका छन् ।
भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न आईतबार पूर्व प्रधानमन्त्री र गृहमन्त्री खाँड दशरथ रंगशाला पुगेका हुन् ।
ओलीलाई राखेप सदस्य सचिव रमेशकुमार सिलवालले स्वागत गरेका थिए । गृहमन्त्री खाँडलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले स्वागत गरेका थिए ।
ओली प्रधानमन्त्री रहेको अवस्थामा गत चैतमा थ्री नेसन्स कप हेर्न समेत रंगशाला आएका थिए । उनले उपाधि विजेता टिम नेपाललाई सरकारको तर्फबाट जनही ४ लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।
पुरस्कार वितरण गरेको भोलिपल्ट ओली प्रधानमन्त्रीबाट बाहिरिएका थिए ।
सिलवाल ओलीकै जोडबलमा राखेप सदस्य सचिव बनेका थिए । एमालेकै सदस्य सचिव रहेको अवस्थामा ओली मैत्रीपूर्ण फुटबल हेर्न रंगशाला पुगेका हुन् ।
सरकार परिवर्तन भएसंगै कांग्रेस नेतृत्वमा सरकार बनेको छ । कांग्रेस नेता समेत रहेका एन्फा अध्यक्ष शेर्पाले गृहमन्त्रीलाई खाँडलाई रंगशाला झारेका छन् ।