काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'ए' डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिताका लागि चरक मेमोरियल अस्पतालसँग सम्झौता गरेको छ ।
एन्फाले आइतबार पोखराको चरक अस्पतालसँग सम्झौता गरेको हो । एन्फाको स्वास्थ्य कमिटिका संयोजक निरज खड्की र चरक अस्पतालका डिरेक्टर रामचन्द्र रेग्मीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार अस्पतालले खेलाडी, टेक्निकल टिमका सदस्य, रेफ्री लगायतको पीसीआर परिक्षण गर्ने छन् । यस्तै चोट बोकेका खेलाडीको उपचार चरक अस्पतालले गर्नेछ ।
पोखराको बहूदेशीय कभर्डहलमा आयोजना हुने फुटसल लिग साउन २३ गतेबाट सुरु हुनेछ ।
एन्फाले लिगका लागि टिमहरुको छनोट गरिसकेको छ । लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
लिगमा फुटसल फाइभ धरान, द राइजिङ क्लब धरान, ढुकु फुटसल हब, संखमुल फुटसल, प्रभातफेरी युथ क्लब, स्काई गोल फुटसल, स्पोर्ट्स क्यासल, सबिन मेमोरियल फुटसल क्लब, लुम्बिनी फुटसल र झरना स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले बताईएको थियो ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको थियो ।
एन्फाले यस प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन गरिने जनाएको छ ।
उक्त टोलीले एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता खेल्ने छन् ।