काठमाडौं । फुटसल व्यवसायीहरुको छाता संगठन नेपाल फुटसल व्यवसायी संघले बन्द रहेको फुटसल संचालन गर्ने निर्णय गरेको छ ।
संघले बिहीबार एक विज्ञप्ति निकाल्दै कोरोना भाईरसको महामारीको कारण बन्द रहेको फुटसल खोल्ने निर्णय गरेको जनाएको छ ।
'सरकारले यस क्षेत्रमा ध्यान नदिदा जग्गाको भाडा, बैंकको ब्याज, कर्मचारीको पारिश्रमिकले यस क्षेत्रको व्यवसायीलाई सताएको छ,' संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस तर्फ सरकारको ध्यान जाओस । हामी व्यवसायी बाध्य भएर बिहीबारबाट सावधानी अपनाई खेल संचालन गर्न बाध्य भएका छौँ ।'
बन्द रहेको फुटसल संचालनको लागि पटक पटक आग्रह गर्दा सरकारले उदासीनता देखाएको समेत संघले जनाएको छ ।
संघले यस अघि फुटसल खोल्नका लागि काठमाडौं जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको थियो ।
नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायात लगायत भिड–भाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरेपनि समूहमा खेलिने खेल र गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।