काठमाडौं । अनु लामा, नेपालको महिला फुटबलको सबै भन्दा ठुलो नाम हो । यो नाम त्यसै बनेको हैन, यसका पछाडी उनले गरेको परिश्रम र नेपाली फुटबलमा उनको योगदान जोडिएको छ ।
उनलाई चिन्ने एउटा सजिलो तथ्य भनेको उनी नेपाली महिला फुटबलकी सर्वाधिक गोलकर्ता हुन् । एक समय दक्षिण एसियाली फुटबलमा उनले आफ्नो विरासतनै कायम गरिन् ।
अनु केही समय अगाडीसम्म गुमनाम जस्तै रहिन् । कारण, उनले चोट बोकेकी थिईन् । खुट्टाको चोटका कारण उनी लामै समय मैदान बाहिर बस्न पर्यो ।
मैदान फर्किने तयारीमा रहेकी अनु भन्छिन्, ‘अब फेरी शुन्यबाट सुरु गर्नुपर्नेछ । गर्नुपर्ने चिज धेरै छ । खेल्न सुरु गरेको छु । पहिलेकै जस्तो छाप छाड्नु छ ।’
२०७३ भदौ १७ को कुरा हो ।
प्रधानसेनापति कप तयारीकोलागि हलचोकस्थित एपीएफको मैदानमा अभ्यास चलिरहेको थियो । त्यही समय अभ्यास गर्दै गर्दा उनी लडेर घाईते भईन् ।
सुरुमा सामान्य जस्तो लागेपनि विस्तारै चोट बल्झिदै गयो । त्यसपछि विस्तारै खुट्टाले सताउन थाल्यो । अनि बेडमा थलिईन् । त्यसको दुई तीन हप्ताको बीचमा उनले एमआरआई परिक्षण गराईन् । त्यसपछि उनको अप्रेशन भयो । करिब ६ दिनको अस्पताल बसाईपछि उनको डिस्चार्ज भयो । तरपनि दिनको २ घण्टाकालागि उनी हस्पिटल जानैपर्ने हुन्थ्यो । अप्रेशनको ४ महिनापछि हस्पिटलले उनलाई सामान्य खुट्टा चलाउन अनुमति दियो ।
अनि उनले बुट बिना हल्का बल खेलाउन थालिन् । त्यसको ६ महिनापछि बुट लगाएर उनी साथीहरुसंग खेल्न थालिन । बलसंग विस्तारै आत्मविश्वास बढ्दै गयो । खुट्टाले समेत साथ दिदै गयो । लगत्तै उनले उपराष्ट्रपति कप महिला लिग खेलिन्, गोलपनि गरिन् । प्रतियोगिताभर उनले कुनै खेल पुरा खेल्न पाईनन् । तर तीन खेल खेल्दै एक गोल गरिन् ।
नेपालको राष्ट्रिय महिला टिमले सन् २०२० मा जापानमा हुने ओलम्पिक छनोट खेल्दैछ । अनु अहिले त्यसैको अभ्यासको तयारीमा छिन् ।
‘अझैपनि देशकालागि खेल्न सक्छु भनेर देखाउन छ । टिम राम्रो छ । छनोट चरण पार गरेर एसिया कप खेल्ने सपना छ । त्यो सपना पुरा गर्नुछ । सबैको साथ र सहयोग आवश्यकता छ ।’ उनी भन्छिन् ।
करिब २ बर्षपछि फुटबलमा पुनरागमन गरेकी अनुको एउटै धोको छ, नेपाललाई साफको च्याम्पियन बनाउने । ‘टिमकालागि धेरै खेलियो । च्याम्पियन बनाउन कहिल्यै सकिएन । अन्तिम अवसर छ । त्यसपछि मलाई समयले नि साथ दिन्न । मैले युवा पुस्तालाई मौका दिनुुपर्छ ।’ उनी भन्छिन्, ‘भारतसँग साफको फाइनलमा पटक पटक हारिरहेको छौँ । अव भारतलाई पराजित गरेर अन्तिम सुखद् विदाई लिनुछ ।’
राष्ट्रिय टोलीबाट २४ क्याप जितेकी अनुले सर्वाधिक ३५ गोल गरेकी छिन् । सन् २००४ मा चीनमा भएको एसियन गेम्सबाट उनी नेपालको प्रतिनिधित्व गर्दै आईरहेकी छिन् । पहिलो खेल उत्तर कोरियासंग प्लेईङ सेटमा रहेर उनले खेलेकी थिईन् ।
नेपाली फुटबलमा चोटको शल्यक्रियापछि पुरुष खेलाडी मैदान फर्कन सफल भएका छन्, तर महिलामा त्यो विरलै देख्न पाईन्छ । अनुलाई पनि डर थियो, सायद अब मैदान फर्किदैन कि ?
तर अनु सफल भईन् । अब नेपाली टिमबाट अन्तिम खेल खेल्दै बिदाई लिने समय समेत आएको छ । नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिने बेला आएको छ ।
‘अब अन्तिम खेलसँगै सुखद् विदाईको अवसर कुरेर बसेको छु । आश छ, एन्फाले सहि निर्णय लिनेछ । मलाई सुखद विदाई गरोस भन्ने चाहन्छु । त्यसकालागि आफ्नोतर्फबाट सकेको गर्नेछु ।’ अनु भन्छिन् ।