एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ ।
राजधानी टोकियोमा जारि ओलम्पिकको दोस्रो दिन शनिबार कुल ११ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा ९ राष्ट्रले स्वर्ण जितेका छन् ।
टोकियो ओलम्पिकको दोस्रो दिन २८ राष्ट्रले पदक जित्दा पदक तालिकामा चीनले अग्रता बनाएको छ । चीनले शनिबार ३ स्वर्ण र १ कास्य पदक सहित कुल ४ पदक जितेको छ ।
चीनकी सुटिङ खेलाडी याङ चियन टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनिन् ।
महिला १० मिटर एयर राइफलमा स्वर्ण जित्दै याङ टोकियो ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी हुन् ।
इटाली १ स्वर्ण र १ रजत सहित कुल २ पदक जित्दै दोस्रो स्थानमा रहेको छ ।
आयोजक जापान १ स्वर्ण र १ रजतसहित २ पदक जितेर तेस्रो स्थानमा रहेको छ । जुडोका नओहिसा ताकातोले ६० केजी तौल समूहमा जापानलाई पहिलो स्वर्ण दिलाए ।
ओलम्पिकको दोस्रो दिन १ स्वर्ण जित्ने अन्य राष्ट्रमा दक्षिण कोरिया, इक्वेडर,हंगेरी, इरान, कोसोभो र थाइल्याण्ड रहेका छन् ।
शनिबार नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सुटिङ खेलाडी कल्पना परियार र जुडो खेलाडी सोनिया भट्टले प्रतिस्पर्धा गरेका थिए ।
कल्पनाले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाईन ।
कल्पनाले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । तर, उनी फाइनल चरणमा छनोट हुन सकिनन् ।
यस्तै सोनिया पहिलो खेलमै पराजित भईन् । राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् ।
१९ वर्षिया सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भईन् । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन् ।
टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले सहभागिता जनाएका छन् ।
अब तीन खेलाडीको प्रतिस्पर्धा बाँकी रहेको छ ।