अन्तिम खेलमा पनि नेपाल पराजित

काठमाडौं। नेपाल ‘ए’ अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत भिक्टोरिया सिए–११ सँग पराजित भएको छ।
शनिबार सम्पन्न आफ्नो छैटौं खेलमा नेपाल १ विकेटले पराजित भएको हो। नेपालले ४ खेलमा हार र २ खेलमा जित दर्ता गर्यो। नेपालले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध ८ विकेट तथा दोस्रो खेलमा बङ्गलादेश हाइपरफर्मेन्स–११ विरुद्ध ९ विकेटको पराजय बेहोरेको थियो।
यस्तै, नेपालले तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रन तथा चौथो खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई ४ विकेटले हराएको थियो। पाँचौं खेलमा भने नेपाली टोली हैदरावाद किङ्समेन एकेडेमीविरुद्ध ३१ रनले पराजित भएको थियो।
नेपालले दिएको १४३ रनको लक्ष्य पछ्याएको भिक्टोरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो।
भिक्टोरियाका टम रोजर्सले २१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाए। नेपालका कुशल भुर्तेल र युवराज खत्रीले २/२ तथा आकाश चन्दले १ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनायो। नेपालका कुशल भुर्तेलले सानदार इनिङ्स खेल्दै ९० रन बनाए। उनले ५६ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।
जारी प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतकीय इनिङ्स हो। यस्तै, दीपक डुम्रेले १६ रन जोडे। बाँकी ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। भिक्टोरियाका कलुम स्टो र ह्यारी होकेत्राले सर्वाधिक २/२ विकेट लिए।













-1787965926851.webp&w=3840&q=75)