सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

काठमाडौं। नेपाल ‘ए’ ले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम खेलमा बलियो भिक्टोरिया क्रिकेट एकेडेमी–११ विरुद्ध जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्य राखेको छ।
डार्विनस्थित मारारा क्रिकेट मैदानमा शनिबार दिउँसो १:१५ बजे हुने खेलमा नेपालले भिक्टोरियाको सामना गर्दैछ। भिक्टोरिया पाँच खेलमा चार जितसहित ८ अंक जोडेर सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
नेपाल भने पाँच खेलबाट दुई जित र तीन हारसहित ४ अंकका साथ अंकतालिकाको सातौं स्थानमा छ। नेपालले आज जित हात पारे ६ अंकमा पुग्नेछ। तर‚ सेमिफाइनलमा पुग्नका लागि नेट रन रेट निर्णायक बन्ने अवस्थामा नेपालको चुनौती निकै कठिन छ।
हाल चौथो स्थानमा रहेको एनटी स्ट्राइकको नेट रन रेट –०.१७० छ भने नेपालको नेट रन रेट –१.०२६ रहेको छ। त्यसैले नेपालले एनटी स्ट्राइकलाई उछिन्न विशाल अन्तरको जित निकाल्नुपर्ने अवस्था छ।
नेपालले पछिल्ला पाँच खेलमा तीन हार र दुई जित बेहोरेको छ। यता भिक्टोरियाले पाँचमध्ये चार खेल जितेको छ। नेपालका लागि सेमिफाइनल सम्भावना अत्यन्त कठिन बने पनि बलियो भिक्टोरियाविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै प्रतियोगिताको अन्त्य सुखद बनाउने अवसर भने बाँकी छ।









-1787965926851.webp&w=3840&q=75)




