टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल

काठमाडौं। नेपाली क्रिकेट अब मैदानमा सीमित रहेन। यो मैदानबाहिर पनि उत्तिकै ठूलो ऊर्जा र भावनासँग जोडिएको विषय बनेको छ।
खेलाडीको प्रदर्शनसँगै बढ्दो जनसमर्थन, अन्तर्राष्ट्रिय मञ्चमा देखिँदै गएको प्रतिस्पर्धी क्षमता र प्रत्येक खेलमा रंगशाला भरिने समर्थकको उत्साहले नेपाली क्रिकेटको पहिचान नै बदलिँदै गएको छ।
यही परिवर्तनले नेपाललाई विश्व क्रिकेटको नक्सामा सम्भावनायुक्त राष्ट्रबाट बलियो दाबेदारका रूपमा स्थापित गर्ने आधार तयार गरिरहेको छ।
-1787733348216.jpeg)
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रमुख कार्यकारी सञ्जोग गुप्ताका अनुसार नेपाल भविष्यमा टेस्ट क्रिकेट खेल्ने अर्को एसोसिएट राष्ट्र बन्न सक्ने सम्भावना बोकेको देश हो।
‘नेपाल भोलिको अफगानिस्तान वा न्युजिल्यान्ड हुन सक्छ,’ गुप्ताले रोयटर्ससँग भनेका छन्। उनका अनुसार नेपालले पछिल्ला वर्षमा उत्कृष्ट खेलाडीको आधार तयार गरेको छ। आईसीसीका ठूला प्रतियोगितामा लगातार आफ्नो स्थान बनाउँदै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाइरहेको छ।
नेपालको सम्भावनालाई अफगानिस्तानसँग तुलना गर्नु स्वाभाविक पनि छ। एसोसिएट राष्ट्रबाट यात्रा सुरु गरेको अफगानिस्तानले छोटो ढाँचाको क्रिकेटमा प्रभाव जमाउँदै अन्ततः सन् २०१७ मा टेस्ट मान्यता पाएको थियो। नेपालले पनि त्यस्तै यात्राको सपना देखिरहेको छ।

क्रिकेटप्रतिको असाधारण मोह
करिब तीन करोड जनसंख्या भएको नेपाल ठूलो व्यावसायिक बजार नहुन सक्छ। तर‚ क्रिकेटप्रतिको जनताको मोह भने यसको सबैभन्दा ठूलो शक्ति बनेको छ।
आईसीसीले पछिल्ला दुई वर्षमा नेपालको क्रिकेट विकास गर्न करिब ५० लाख अमेरिकी डलर लगानी गरेको छ। साथै, नेपालले आगामी वर्ष हुने यू–१९ महिला विश्वकपको सह–आयोजकको जिम्मेवारीसमेत पाएको छ।

गुप्ताका अनुसार नेपालसँग कुनै पनि खेलले चाहने सबैभन्दा ठूलो सम्पत्ति छ– समर्थक। सन् २०२६ को टी–२० विश्वकपमा भारतको वानखेडे रंगशालामा नेपाललाई समर्थन गर्न पुगेका रातो पहिरनका हजारौं समर्थकले पनि त्यसलाई पुष्टि गर्छ।
त्यही प्रतियोगितामा नेपालले स्कटल्यान्डलाई सात विकेटले हराउँदै विश्वकपमा सन् २०१४ पछि पहिलो जित दर्ता गर्यो। उता, इङ्ल्यान्डजस्तो दुईपल्टको विश्व च्याम्पियनलाई जित निकाल्न हम्मेहम्मे बनाएको थियो।
नेपाल यो मोडमा आइपुग्नुको सबैभन्दा ठूलो कारण सन् २०१४ को टी–२० विश्वकपमा छनोट मानिन्छ। त्यो नेपाली क्रिकेटको ऐतिहासिक मोड थियो। भारत, पाकिस्तान र श्रीलंकाजस्ता क्रिकेट महाशक्तिको छायामा रहेको नेपालले पहिलोपटक विश्वमञ्चमा आफ्नै टोली लिएर उपस्थिति जनाएको थियो।

सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपाली क्रिकेटको लोकप्रियता झन् बढ्यो। पूर्वकप्तान तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काका अनुसार विश्वकपमा छनोट भएपछि नेपाली जनताले टोलीमाथि विश्वास गर्न थालेका हुन्।
‘यसले क्रिकेटलाई नेपाली घरघरमा पुर्यायो। अचानक यसले राष्ट्रिय भावना र नेपाली हुनुको गर्व जगायो,’ उनले भनेका छन्।
‘हिमालयको पर्व’ बनेको एनपीएल
नेपालको क्रिकेट विकासमा नेपाल प्रिमियर लिग (एनपीएल) अर्को महत्त्वपूर्ण आधार बनेको छ। दुई सिजन पूरा गरिसकेको यो टी–२० प्रतियोगिताले क्रिकेटमा नयाँ व्यावसायिक सम्भावना र आम्दानीको बाटो खोलेको छ।

खड्काका अनुसार एनपीएल नेपाली क्रिकेटको भविष्यका लागि निर्णायक बन्न सक्छ। एनपीएलबाट प्राप्त आम्दानी क्रिकेटमै पुनः लगानी हुँदै आएको र प्रतियोगिता अझ विस्तार हुँदै गए विकास कार्यक्रम तथा पूर्वाधार निर्माणका लागि आवश्यक आर्थिक आधार तयार हुने उनको विश्वास छ।
यसबाहेक नेपालले टी–२० क्रिकेटमा आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा प्रमाणित गर्न थालेको छ। सन् २०२६ को विश्वकपमा इङ्ल्यान्ड र दक्षिण अफ्रिकाविरुद्ध नेपाल अप्रत्याशित जितनजिक पुगेको थियो। उक्त खेलले पनि टोलीको क्षमता असाधारण देखायो।
तर‚ खड्काका लागि नेपालको अर्को चुनौती स्पष्ट छ, ठूला टोलीसँग नियमित खेल्ने अवसर। ‘राम्रो क्रिकेटरसँग खेलेपछि मात्र तपाई राम्रो क्रिकेटर बन्नुहुन्छ। राम्रो टोलीसँग खेलेपछि मात्र राम्रो टोली बन्न सकिन्छ,’ उनी भन्छन्।
-1787733447964.jpeg)
त्यसैले नेपाल क्रिकेट संघ (क्यान)ले टेस्ट मान्यता प्राप्त राष्ट्रहरूसँग द्विपक्षीय क्रिकेट खेल्ने प्रयास गरिरहेको छ। खेलाडीको स्तर उकास्न पुरुष र महिला दुवै टोलीका लागि केन्द्रीय सम्झौता, रेड–बल क्रिकेटको सुरुआत तथा पूर्वाधार विस्तारजस्ता काम पनि अघि बढिरहेका छन्।
अफगानिस्तानको बाटो पछ्याउने लक्ष्य
नेपालका लागि अफगानिस्तान एक बलियो उदाहरण हो। यो राष्ट्रले एसोसिएटबाट आफ्नो यात्रा सुरु गरेर विश्व क्रिकेटको सर्वोच्च तहमा पुग्न सकिन्छ भनेर प्रमाणित गरेको छ।
-1787733467773.jpeg)
खड्काका अनुसार त्यस यात्राबाट नेपालले सिक्नुपर्ने धेरै कुरा छन्। ‘नेपालसँग अहिले उत्साही समर्थक, प्रतिभाशाली खेलाडी र घरेलु क्रिकेटको बढ्दो संरचना छ। अब यी आधारलाई निरन्तर अन्तर्राष्ट्रिय प्रदर्शन, बलियो पूर्वाधार र टेस्ट राष्ट्रसँगको नियमित प्रतिस्पर्धासँग जोड्न सक्नु नै निर्णायक हुनेछ,’ उनी भन्छन्।
विश्व क्रिकेटमा नेपालले अझै लामो यात्रा तय गर्न बाँकी छ। तर‚ जुन देशमा क्रिकेट खेल मात्र नभएर राष्ट्रिय गौरव र भावनासँग जोडिएको छ, त्यहाँ सम्भावनाको सीमा पनि ठूलो देखिन्छ।
अफगानिस्तानले देखाएको बाटो नेपालका लागि अब सपना होइन, पछ्याउन सकिने एउटा खाका बनेको खड्का बताउँछन्।











-1787661904658.jpeg&w=3840&q=75)

