इन्फान्टिनोविरुद्ध फौजदारी उजुरीको तयारीमा यूईएफए

काठमाडौं। विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोविरुद्ध फौजदारी उजुरी दायर गर्ने तयारी युरोपेली फुटबलको नियामक निकाय यूईएफएले गरिरहेको छ।
विश्वकपको व्यावसायिक अधिकारको २० प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने योजनालाई लिएर उत्पन्न विवादपछि यूईएफएले इन्फान्टिनोविरुद्ध कानुनी कदम चाल्ने तयारी गरेको हो।
अमेरिकी संघीय अदालतमा यूईएफएका वकिलहरूले बुझाएको ५६ पृष्ठ लामो दस्तावेज द इन्डिपेन्डेन्टले प्राप्त गरेको बताइएको छ। उक्त दस्तावेजमा इन्फान्टिनोविरुद्ध स्विट्जरल्यान्डमा ‘क्रिमिनल मिसम्यानेजमेन्ट’ अर्थात् आपराधिक अव्यवस्थापनको आरोपमा उजुरी दायर गर्ने तयारी भइरहेको उल्लेख छ।
विवादको मुख्य विषय फिफाले प्रस्ताव गरेको फिफा फर्वार्ड इन्टरप्राइज (एफएफई) योजना हो। यस योजनाअन्तर्गत विश्वकपको व्यावसायिक कारोबारमा रहेको २० प्रतिशत हिस्सा निजी लगानीकर्तालाई करिब ४.२ अर्ब अमेरिकी डलरमा बिक्री गर्ने योजना इन्फान्टिनोले अघि सारेका थिए।
तर, यूईएफएले उक्त मूल्यांकनलाई ‘अत्यन्त कम’ भएको दाबी गरेको छ। साथै, प्रस्ताव कुनै खुला तथा प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट तयार नगरिएको र स्वतन्त्र मूल्यांकनकर्तामार्फत यसको बजार मूल्यसमेत निर्धारण नगरिएको यूईएफएको आरोप छ।
दस्तावेजमा इन्फान्टिनोसहित योजनासँग सम्बन्धित व्यक्तिहरूले उक्त प्रक्रियाबाट आर्थिक लाभ लिन सक्ने सम्भावना रहेको पनि उल्लेख गरिएको छ। फिफाको महत्त्वपूर्ण साझेदारमध्ये एक भएकाले यस विषयमा कानुनी कदम चाल्न आफूहरूसँग पर्याप्त आधार र स्वार्थ रहेको यूईएफएको दाबी छ।
एफएफई योजनाका सम्भावित प्रमुख लगानीकर्तामध्ये एक थ्राइभ क्यापिटलका संस्थापक जोसुआ कुशनर थिए। उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ हुन्।
एफएफई योजना सार्वजनिक भएपछि युरोपेली फुटबलमा यसको चर्को विरोध भएको थियो। यूईएफएले फिफाको विश्वकप तथा अन्य प्रतियोगिता बहिष्कार गर्नेसम्मको चेतावनी दिएको थियो।
अन्ततः गत महिना उक्त योजना असफल भयो। त्यसपछि बुधबार यूईएफएले फिफाबाट भविष्यमा आफ्ना प्रतियोगिताको व्यावसायिक साझेदारी यसरी बिक्री गर्ने प्रयास नगर्ने ‘आश्वासन’ पाएको जनाएको थियो। फिफाको उक्त आश्वासनपछि यूईएफएले विश्वकप बहिष्कार गर्ने चेतावनीबाट पछि हटेको थियो।
यद्यपि, इन्फान्टिनोविरुद्ध कानुनी कारबाही गर्ने सम्भावना भने यूईएफएले पूर्ण रूपमा खारेज गरेको छैन। यसै महिनाको सुरुतआमा यूईएफएले इन्फान्टिनोलाई एफएफई योजनालाई लिएर कानुनी कारबाही, मध्यस्थता प्रक्रिया वा नियामक निकायसमक्ष उजुरी गर्ने विकल्पबारे विचार भइरहेको चेतावनी दिएको थियो।











