बारकोला लिभरपुल जाने

काठमाडौं। फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का युवा फरवार्ड ब्राड्ली बारकोला लिभरपुल जाने भएका छन्।
लिभरपुल र पीएसजीबीच बारकोलाको स्थानान्तरणका लागि १२३ मिलियन पाउन्ड (करिब १६६ मिलियन अमेरिकी डलर) को सम्झौता भएको स्रोतले जनाएको छ।
सम्झौताबारे जानकारी राख्ने एक व्यक्तिले शनिबार एसोसिएटेड प्रेस (एपी) लाई यो जानकारी दिएका हुन्। लिभरपुल र पीएसजीले भने हालसम्म बारकोलाको स्थानान्तरणबारे आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
सम्झौताअनुसार लिभरपुलले २३ वर्षीय फ्रान्सेली अन्तर्राष्ट्रिय खेलाडीका लागि १०६ मिलियन पाउन्ड (करिब १४३ मिलियन डलर) तत्काल तिर्नेछ। यसबाहेक प्रदर्शन तथा अन्य सर्तमा आधारित १७ मिलियन पाउन्ड (करिब २३ मिलियन डलर) सम्मको अतिरिक्त रकम पनि तिर्न सक्नेछ।
बारकोलाले पीएसजीसँग लगातार दुईपटक च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन्। लिभरपुलसँग सम्झौता अघि बढाउन उनले अब मेडिकल परीक्षण गराउने अपेक्षा गरिएको छ। यस वर्षको खेलाडी स्थानान्तरण विन्डो मंगलबार बन्द हुँदैछ।
बारकोलाको आगमनसँगै लिभरपुलले आक्रमणपंक्तिमा अर्को ठूलो लगानी गरेको छ। क्लबले गत समरमा स्ट्राइकर अलेक्जान्डर इसाकका लागि १२५ मिलियन पाउन्ड (१७० मिलियन डलर) तथा आक्रमणकारी मिडफिल्डर फ्लोरियन विर्ट्जका लागि ११६ मिलियन पाउन्ड (१५६ मिलियन डलर) खर्च गरेको थियो।







-1787965926851.webp&w=3840&q=75)




