काठमाडौं । एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्लको पछिल्लो कोभिड-१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
टोकियो ओलम्पिक जाने टोलीमा रहेकी मल्लको शनिबार गरिएको पहिलो पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
'फल्स रिपोर्ट' को शंका लागेपछि प्रशिक्षक मल्लले आइतबार स्टार हस्पिटलसहित अन्य चार ठाउमा पुन: परीक्षण गराएकी थिइन् । उक्त परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
प्रशिक्षक मल्लले आइतबार चार ठाउमा गरिएको परीक्षणमा आफ्नो रिपोर्ट नेगेटिभ आएको जानकारी दिईन् ।
'ओलम्पिक कमिटिमा गरिएको परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । मलाई त्यस रिपोर्टमा शंका लागेपछि स्टार हस्पिटलसहित अन्य चार ठाउमा परीक्षण गर्दा मेरो रिपोर्ट नेगेटिभ आएको छ,' मल्लले खेलपाटीसँग भनिन् ।
मल्लले आफुले कोभिडको खोप लगाएको र आफुलाई कोरोनाको कुनैपनि लक्षण नभएको बताईन् ।
प्रशिक्षक मल्ल ओलम्पिक खेल्ने एथलेटिक्स खेलाडी सरस्वती चौधरीको प्रशिक्षक रहेकी थिइन् । मल्लको निर्देशनमा चौधरीले ओलम्पिक तयारीगरिरहेकी थिइन् ।
तर, कोरोना पोजेटिभ देखिएपछि मल्लले जापानको ओलम्पिक गुमाउने भएकी छिन् ।
नेपाल ओलम्पिक कमिटिले मल्लको स्थानमा म्याराथनका प्रशिक्षक सन्तोष श्रेष्ठ जापान जाने जनाएको छन् ।