काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बन्न लागेको प्रदेश रंगशाला निर्माणको लागि टेन्डर आह्वान गरिएको छ।
कर्णाली प्रदेश खेलकुद विकास काउन्सिलले एक सूचना निकाल्दै रंगशाला निर्माणको लागि टेन्डर आह्वान गरेको हो।
कर्णाली प्रदेशले ३ देखि १० वर्षभित्र काम सम्पन्न गर्नेगरि टेन्डर आह्वान गरेको हो ।
सुर्खेतमा बन्ने प्रदेश रंगशाला निर्माणलाई कर्णाली प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा घोषणा गरिसकेको छ ।
दुई साता अघि प्रदेश मन्त्रीपरिषद्को बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमाथि निर्णय गर्दै प्रदेश रंगशालालाई प्रदेशको गौरवको आयोजनाको रुपमा घोषणा गर्ने निर्णय गरेको थियो ।
संघीय सरकारले रंगशाला निर्माणका लागि १ करोड ६९ लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।
डीपीआर सहित रंगशाला निर्माणमा झण्डै दुई अर्ब खर्च हुने अनुमान गरिएको छ ।
वीरेन्द्रनगरको कुइनेपानीस्थित नगरविकासको ९ बिगाहा जग्गामा रंगशाला निर्माण हुनेछ ।