एजेन्सी । टोकियो ओलम्पिकको 'ओलम्पिक भिलेज' भित्रै कोरोना संक्रमित खेलाडी भेटिएका छन् ।
टोकियो ओलम्पिकको आयोजक कमिटिले आइतबार ओलम्पिक भिलेजमा बसेका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको एपीले जनाएको छ ।
कोरोना संक्रमित खेलाडीको परिचय गोप्य राखिएको छ । उनीहरु जापान बाहिरका भएको बताईएको छ ।
यस अघि शनिबार भिलेज भित्र रहेका खेल आयोजनामा संलग्न एक अफिसियलमा कोरोना देखिएको थियो । उनको परिचय समेत गोप्य राखिएको छ ।
टोकियो ओलम्पिक सुरु हुन ५ दिन बाँकी रहेको समयमा ओलम्पिक भिजेलमै कोरोना संक्रमित भेटिन थालेको हो । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
टोकियो ओलम्पिकमा पौडीबाट गौरिका सिंह, एलेक्जेन्डर शाह (एलेक्स), एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्ने छन् ।