काठमाडौं । फुटसल व्यवसायीहरुको छाता संगठन नेपाल फुटसल व्यवसायी संघले बन्द रहेको फुटसल संचालनका लागि काठमाडौं जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको छ ।
कोरोना भाईरसको दोस्रो लहर आएसँगै बन्द रहेको फुटसल अविलम्ब संचालनका लागि संघले प्रशासनमा ज्ञापनपत्र बुझाएको हो ।
संघले बुझाएको ज्ञापनपत्रमा लामो समय बन्द रहेको कारण फुटसललाई आर्थिक भार परेको भन्दै फुटसल संचालनको लागि अनुमति दिन माग गरिएको छ ।
'खेल क्षेत्रमा पनि सावधानी अपनाई खेल संचालन कार्यविधि निर्माण गर्न हामी व्यवसायीहरु पूर्ण प्रतिबद्दता ब्यक्त गर्दछौं । हाल राज्यले कुनै पहल नदेखाएको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएकाले आवश्यक पहल गरु हामीहरुको फुटसल व्यवसाय अविलम्ब संचालनको प्राबध गरिदिन यो ध्यानाकर्षणको ज्ञापनपत्र बुझाएका छौँ,' विज्ञप्तिमा भनिएको छ ।
सरकारले यस क्षेत्रमा ध्यान नदिदा जग्गाको भाडा, बैंकको ब्याज, कर्मचारीको पारिश्रमिक दिन समेत नसकेको भन्दै सबै सावधानी अपनाएर फुटसल संचालन गर्न व्यवसायीले प्रतिबद्दता समेत व्यक्त गरेका छन् ।
नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायात लगायत भिड–भाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरेपनि समूहमा खेलिने खेल र गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।