काठमाडौं । 'ए' डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिता साउन २३ गतेबाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार फुटसल लिग साउन २३ गतेबाट पोखरामा सुरु हुने जनाएको छ ।
यस अघि जेठमा तय भएको लिग कोरोना भाईरसको महामारीको कारण स्थगित गरिएको थियो ।
कोरोनाले स्थगित हुनु अघि लिग जेठ १ देखि २२ सम्म पोखराको बहूदेशीय कभर्डहलमा संचालन हुने तालिका रहेको थियो ।
लिगका लागि एन्फाले टिमहरुको छनोट गरिसकेको छ । लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
लिगमा फुटसल फाइभ धरान, द राइजिङ क्लब धरान, ढुकु फुटसल हब, संखमुल फुटसल, प्रभातफेरी युथ क्लब, स्काई गोल फुटसल, स्पोर्ट्स क्यासल, सबिन मेमोरियल फुटसल क्लब, लुम्बिनी फुटसल र झरना स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले बताईएको थियो ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको थियो ।
एन्फाले यस प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन गरिने जनाएको छ ।
उक्त टोलीले एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता खेल्ने छन् ।