काठमाडौं । नेपाल ओलम्पिक कमिटीको तत्वावधान तथा स्पोर्टस फर अल कमिसनको आयोजनमा 'ओलम्पिक डे' मनाइएको छ ।
सातदोबाटोस्थित कमिटिको मुख्यालयमा शनिबार आयोजित विशेष कार्यक्रमबीच सम्पूर्ण सुरक्षा अपनाएर ओलम्पिक डे मनाइएको हो ।
ओलम्पिक डे को अवसरमा युवा तथा खेलकुद मन्त्री एकबाल मियाँले नेपालको भण्डा झण्डोत्तोलन गरेका थिए । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोत्तोलन गरेका थिए ।
त्यस अवसरमा मन्त्री मियाँ र अध्यक्ष श्रेष्ठबीच मैत्रीपूर्ण टेबल टेनिस पनि भएको थियो । त्यसपछि आयोजित मुख्य कार्यक्रममा कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक डेको महत्त्वबारे जानकारी दिएका थिए ।
अध्यक्ष श्रेष्ठले त्यस अवसरमा ओलम्पिक डेको आयोजनामा नेपाली खेलकुद र समग्र समाजमै भातृत्व र शान्ति बढ्ने बताए ।
मन्त्री मियाँले नेपाली खेलकुद विकासका लागि सामुहिक प्रयास आवश्यक भएको र आफू नेपाली खेलकुदको विकासमा सबै प्रकारले सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य तथा महासचिव निलेन्द्र श्रेष्ठको उपस्थिति थियो ।
नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ । यसपटक कमिटिको मातहतका विभिन्न संघ संस्थाले २ सय ३१ कार्यक्रम पनि गर्नेछन् ।