काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेश सांसद एवं नवनियुक्त भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई कारबाहीको माग गरेको छ ।
राखेपले सोमबार एक विज्ञप्ति जारी गर्दै सदस्य सचिव रमेशकुमार सिलवाल तथा परिषद्का सदस्य राजेश गुरुङबारे अमर्यादित अशोभनिय लाल्छनायुक्त एवं घोर निन्दनीय अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेको हो ।
राखेपले मनाङेको अभिव्यक्तिले राखेपको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राखेपले खेलकुद विकास र विस्तारमा अनवरत लागि रहेका परिषद्का सदस्य सचिव र सदस्य उपर आएको यस्ता अभिव्यक्तिले सम्पूर्ण खेल जगतको अपमान भएको समेत जनाएको छ ।
'गण्डकी प्रदेश सांसद एवं नवनियुक्त भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङज्यूबाट अभिव्यक्त भएको अराजक एवं अशिष्ट भनाइबाट राष्ट्रिय खेलकुद परिषद् स्तब्ध भएको छ,' राखेप कार्यवाहक सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले निकालेको विज्ञप्तिमा भनिएको छ ।
समाजले पचाउन नसक्ने खालक अभिब्यक्ति एउटा जनप्रतिनिधि एवं माननीय मन्त्रीबाट बाहिर आउनु आफैमा खेदजनक रहेको विज्ञप्तिमा जनाईएको छ ।
'माननीय मन्त्रीज्यूबाट सार्वजनिक भएका अप्रजातान्त्रिक, असभ्य एवं गैरजिम्मेवार अभिब्यक्तिको राष्ट्रिय खेलकुद परिषद् घोर भत्सर्ना एवं निन्दा गर्दै उक्त भनाइले सम्पूर्ण नेपाली खेलकुद क्षेत्रको मानहानी भएको ठहर गर्दै दोषी उपर प्रचलित नेपाल कानून बमोजिम कानूनी कार्वाहीको समेत माग गर्दछौं,' विज्ञप्तिमा भनिएको छ ।
गण्डकी प्रदेशको पूर्व खेलकुद मन्त्री समेत रहेका मनाङेले भौतिक पूर्वाधार मन्त्री नियुक्त भएपछि आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।