काठमाडौं । पूर्व राष्ट्रिय खेलाडी एवं अखिल नेपाल टेबल टेनिस क्लबका उपाध्यक्ष राजेन्द्र दुलाल र पत्नी समिक्षा दुलालले कोभिड १९ को दोश्रो लहरका कारण समस्यामा परेका असहायहरुलाई राहत उपलब्ध गराएका छन् ।
विभागीय टिम एपीएफका टेबल टेनिस प्रशिक्षक समेत रहेका दुलालले अमेरिकाको क्यालिफोर्नियामा रहेका बालसखा महेन्द्र राज पाण्डेको समेत सहयोगमा शनिबार अनाथ बालबालिकालाई खाद्यान्न सहयोग गरेका छन् ।
दुलाल दम्पतीले लगनखेलस्थित सम्बन्ध आश्रममा रहेका २० जना अनाथ बालबालिकाको परिवार र बुढानिलकण्ठस्थित सृजना सामाजिक सेवा समाजका २५ अनाथ बालबालिकालाई २-२ बोरा चामल, वाईवाई एक-एक कार्टुन, दुई-दुई लिटर तेल, चार-चार प्याकेट नुन, दुई-दुई कार्टुन बिस्कुट र एक-एक केजी मस्यौरा र पानी प्रदान गरेका छन् ।
दुलाल दम्पतीले पहिले पनि असहायहरुमा सहयोग गर्दै आईरहेका छन् ।
असहज परिस्थितीमा असहाय र कठिन अवस्थामा रहेकालाई सानो सहयोग गर्न अग्रसर भएकाे दुलालले बताए ।
'जानकारी प्राप्त गरेको खण्डमा अन्य असहाय, खेलाडी, खेलकर्मी र खेलपत्रकार साथीलाई पनि सहयोग गर्न तयार छौँ ।' ठमेल पर्यटन बिकास परिषदका सदस्य समेत रहेका दुलालले बताए ।