काठमाडौं । नेपाल तेक्वान्दो संघ अन्तर्गत रहेको पारा कमिटिले आफ्नो मतहातमा रहेका राष्ट्रिय खेलाडीहरुलाई आर्थिक र खाद्यान्न सहयोग गरेको छ ।
कोभिड-१९ को दोस्रो लहर र नयाँ भरियन्टको कारण नेपाल सरकारले लगाएको निषेधाज्ञाको कारण मर्कामा परेका खेलाडीहरुलाई सहयोग प्रदान गरिएको हो ।
पारा कमिटिले बुधबार खेलाडीहरु दिपेश महत, राम बहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, रञ्जना धामी र श्रृजना घिसिङलाई नगद ५/५ हजार सहयोग उपलब्ध गराएको हो । यस्तै २ बोरा चामल, १ बक्सा खाने तेल, नुन ५ केजी र दाल लगायतका खाद्यान्न उनीहरुको बासस्थानमै गएर सहयोग प्रदान गरिएको छ ।
खेलाडीहरुका लागि खाद्यान्न पारा कमिटिका सदस्य रोशित उन्निथानले उपलब्ध गराएको हो भने पारा कमिटिका सदस्य रामचन्द्र श्रेष्ठ, हेमन्त भट्टराई र राजन उप्रेतीले ४० हजार सहयोगको लागि उपलब्ध गराएका थिए ।
पारा कमिटिका सचिब एवं ओलम्पियन दिपक विष्ट, पारा प्रशिक्षक कविराज नेगी लामा र १३ औं सागका दुई स्वर्णधारी कराते खेलाडी मन्देकाजी श्रेष्ठले खेलाडीहरुको घरमा पुगेर सहयोग प्रदान गरेका थिए ।