काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा), नेपाल मोटरसाइकल फेडेरेसन क्लबको संयुक्त आयोजना तथा पर्वतीय खेलकुद महासंघ नेपाल र नेपाल अटो डट कमको सहयोगमा मोटरसाइल सेफ्टी तथा सस्टेनेबिलिटीबारे अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ ।
एफआईएम सस्टेनेबल विकको अवसरमा आयोजित अन्तरक्रियामा नेपाल, भारत र फ्रान्सबाट वक्ता तथा सहभागीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ता फेडेरेसन इन्टरनेसनल डेकी निर्देशक कटिया डुबोनले एफआईएमको गतिविधि बारे जानकारी गराएका थिइन् । ट्राक्स इन्डियाकी महासचिव रजनी गान्धीले मोटरसाइकलको यात्रालाई सुरक्षित बनाउन भारतमा चालिएका कदम तथा उपलब्धिबारे प्रस्तुति दिएकी थिइन् ।
एफआईएम एसियाका उपाध्यक्ष सुजित कुमारले नेपाल टुरिङ्गका उत्कृष्ट गन्तब्य बन्न सक्ने जानकारी गराउदै बिगतमा नासा नेपालसँग एकबद्ध भएर गरिएका कार्यक्रमहरुबारे जानकारी दिएका थिए ।
राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य गोविन्द भट्टराईले नासा नेपालको इतिहास, संयुक्त कार्यक्रम तथा नेपालका केहि टुरिङ्ग गन्तब्यबारे जानकारी गराएका थिए ।
हिमालयन इन्फिल्डर्सका निर्देशक प्रमोद श्रेष्ठले मोटरसाइकल मार्फत नेपालमा गरिएका टुरिंग गतिविधि पेश गर्नुका साथै सुरक्षा मापदण्ड पालना गर्न बारे प्रस्तुति दिएका थिए ।
योमा ई मोटर्सका प्रबन्ध निर्देशक संजिव शिल्पकारले इन्धन युक्त सवारीले वातावरणमा परेको प्रभावबारे जानकारी गराउदै विद्युतीय सवारीको प्रयोगलाई बढाउनु पर्नेमा जोड दिएका थिए । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका कार्य समिति सदस्य प्रकाश कपुरीले सडक सुरक्षाका हिसाबले सवारी कर संकलनलाई थप पारदर्शी बनाई उपभोक्ताले तिरेको कर अनुसार सवारी चलाउने वातावरण हुनु पर्ने बताए ।