काठमाडौं । थिमी डोजोका आशिष लामा र मेन डोजो, भक्तपुरका सुवास परियारले प्रथम उपत्यकाव्यापी कराते तथा किक बक्सिङ प्रतियोगितामा स्वर्ण जितेका छन् ।
विद्या आर्जन सितोरियो शाखा डोजो, भक्तपुरद्वारा आयोजित प्रतियोगितामा शुक्रबार पुरुष ३५ केजीमा आशिषले मेन डोजो, भक्तपुरका मनोज तामाङ तथा ३० केजीमा सुवासले काभ्रे एकेडेमीका एलिस कार्कीलाई पराजित गरे ।
भक्तपुरस्थित विद्या आर्जन स्कुलमा भएको प्रतियोगिताको पुरुष २० केजीमा भक्तपुर नगरपालिकाका लक्की सुवाल तथा २५ केजीमा लुभू डोजोका सुमित पाख्रिनले स्वर्ण जिते । फाइनलमा लक्कीले मेन डोजो भक्तपुरका सुजल कोण्डा तथा सुमितले टौखेल डोजोका ईश्वर थुयालाई हराए ।
महिला २० केजीमा गोजुरियोकी अस्मिता तामाङ पहिलो भइन् । अस्मिताले फाइनलमा गोजुरियोकै प्रियन्शा लामाको चुनौती समाप्त पारिन् । २५ केजीमा गोजुरियोकी अनिता तामाङले भक्तपुर नगरपालिकाकी कृतिका राईलाई फाइनलमा पाखा लगाउदै शीर्ष स्थान हात पारिन् । ३० केजीमा गोजुरियोकी सोनी तामाङले पहिलो स्थान हात पारिन् । फाइनलमा सोनीले मेन डोजो, भक्तपुरकी सुस्मिता शर्मालाई पन्छाइन् ।
दुईदिने प्रतियोगितामा आमन्त्रित काभ्रेसहित विभिन्न २३ डोजोका २ सय २० पुरुष तथा ८९ महिला खेलाडीले विभिन्न ३२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक एवं डोजो प्रमुख सूर्यबहादुर तामाङले जनाएका छन् ।
प्रतियोगिताको उद्घाटन अवसरमा अन्तर्राष्ट्रिय पदक विजेता आठ वर्षिय आर्यन रन्जितलाई नगदसहित सम्मान गरिएको थियो । आर्यनले दुई साताअघि सिंगापुरमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा कांस्य जितेका थिए ।
सोही अवसरमा आठौं दक्षिण एसियाली खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता रामशरण ट्वाटी तथा नेपाल रेफ्री काउन्सिलका संयोजक राजेन्द्र कपाली र सह–संयोजक महेश रन्जितलाई पनि सम्मान गरिएको थियो ।