काठमाडौं । फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप र सेन्ट्रल जोन महिला भलिबलका लागि नेपाली महिला भलिबल टिमको बन्द प्रशिक्षण जेठ २१ गतेबाट सुरु हुने भएको छ ।
नेपाल भलिबल संघ (एनभीए) को शुक्रबार बसेको भर्चुअल बोर्ड बैठकले महिला टिमको प्रशिक्षण जेठ २१ बाट गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट अनुमति पाएपछि संघले प्रशिक्षणको मिति तय गरेको हो ।
'महिला टिमको तयारी जेठ २१ गतेबाट गर्ने निर्णय गरिएको छ । खेलाडीको कोरोना परिक्षण गरेर प्रशिक्षण थाल्ने छौँ,' संघका सचिब मनबिर छन्त्यालले भने ।
खेलाडीको पीसीआर परिक्षण पछि होटलमा राखेर सामाजिक दुरी कायम गर्दै नेपाली टिमको तयारी सुरु गरिने छ ।
संघले टिमको मुख्य प्रशिक्षक जगदीश भट्ट र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको छ । टिमको व्यवस्थापक संघका उपाध्यक्ष समेत रहेकी निरोज मास्के रहेकी छिन् ।
एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।
संघले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
भलिबल संघले गत महिना सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाउने निर्णय गरेको हो ।
संघका उपाध्यक्ष निरोज मास्केसहित महिला टोलीका पूर्व प्रशिक्षक जगदिश भट्ट र प्रज्वल बहादुर सिंहको छनोट समितिले ३० खेलाडी छनोट गरेको हो । जसमा पाँच बैकल्पिक खेलाडी समेत राखिएको छ ।
प्रशिक्षणमा आर्मीबाट सर्वाधिक ८ खेलाडी पर्दा डायमण्ड, पुलिस र एपीएफबाट समान ७–७ खेलाडी परेका छन् । यस्तै भरतपुर मेट्रोबाट एक खेलाडी परेका छन् ।
यो पनि ...
भलिबलको बन्द प्रशिक्षणमा ३० खेलाडी