काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप र सेन्ट्रल जोन महिला भलिबलका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
भलिबल संघले गत महिना सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाउने निर्णय गरेको हो ।
संघका उपाध्यक्ष निरोज मास्केसहित महिला टोलीका पूर्व प्रशिक्षक जगदिश भट्ट र प्रज्वल बहादुर सिंहको छनोट समितिले ३० खेलाडी छनोट गरेको हो । जसमा पाँच बैकल्पिक खेलाडी समेत राखिएको छ ।
भलिबल संघले बन्द प्रशिक्षण जेठ २१ गतेबाट सुरु गर्ने जनाएको छ । संघको आज शुक्रबार बसेको भर्चुअल बोर्ड बैठकले प्रशिक्षणको मिति तय गरेको हो ।
संघले टिमको मुख्य प्रशिक्षक जगदीश भट्ट र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको छ । टिमको व्यवस्थापक संघका उपाध्यक्ष समेत रहेकी निरोज मास्के रहेकी छिन् ।
संघले बोलाएको प्रारम्भिक टिममा बिनिता बुढाथोकी र नेविका चौधरी परेकी छैनन् । आर्मीका कप्तान कृपा अधिकारीले २ वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक टिममा स्थान बनाएकी छिन् ।
न्यु डायमण्ड स्पोर्ट्स क्लबका बाल्मिका आचार्य, झरना श्रेष्ठ, रिया कुँवर र रिमा कुवँर पहिलो पटक बन्द प्रशिक्षणमा परेका हुन् ।
संघले बैकल्पिक खेलाडीमा भतरपुरकै आरती सुवेदी, निशा चौधरी, डायमण्डकी प्रगती नाथ, ढोरपाटनबाट पुष्पा शाही र नेपाल पुलिसबाट पुष्पा चौधरीलाई राखेको छ ।
प्रशिक्षणमा आर्मीबाट सर्वाधिक ८ खेलाडी पर्दा डायमण्ड, पुलिस र एपीएफबाट समान ७–७ खेलाडी परेका छन् । यस्तै भरतपुर मेट्रोबाट एक खेलाडी परेका छन् ।
बन्द प्रशिक्षणमा परेका खेलाडी -
आर्मी क्लब - सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का, संगम महतो
न्यु डायमण्ड - प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, रिया कुवँर, रिमा कुँवर , झरना श्रेष्ठ, बाल्मिका आचार्य
नेपाल पुलिस - उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द
एपीएफ - सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी
भरतपुर - सरस्वती कट्टेल