काठमाडौं । नेपालकी सुटिङ खेलाडी कल्पना परियारले जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छिन् ।
कल्पनाले शुक्रबार टोकियो ओलम्पिकको वाइल्ड कार्ड प्राप्त गरेकी छिन् ।
वाइल्ड कार्ड प्राप्त गरेसँगै कल्पनाले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिक खेल्ने निश्चित भएको छ ।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले कल्पनाले वाइल्ड प्राप्त गरेको पुष्टि गरे ।
‘कल्पनाले आज बिहान वाइल्ड कार्ड प्राप्त गरेकी छिन् । नेपाल ओलम्पिक कमिटी र नेपाल सुटिङको अथक प्रयासपछि यो प्राप्त भएको छ,’ बैद्यले भने ।
ओलम्पिकमा कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन् । उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी पनि भएका छिन् ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
ओलम्पिकमा कल्पनासँगै चार खेलाडीले प्रतियोगितामा सहभागी हुने निश्चित भइसकेको छ ।
अन्य तीन खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोचीचन्द्र पार्की रहेका छन् ।