काठमाडौं । युवा गोलरक्षक अर्पण कार्कीलाई मातृशोक परेको छ ।
नेपाल यू-१६, १८ र १९ का समेत कप्तान रहेका अर्पणलाई मातृशोक परेको हो ।
महेन्द्रनगर निवाशी अर्पणको माता सरस्वती कार्कीको स्थानीय अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
कोरोना भाईरसको संक्रमणपछि अस्पताल भर्ना भएकी कार्कीको बिहीबार बिहान निधन भएको हो ।
कोरोना महामारिका कारण सरकारले निषेधाज्ञा लगाएपछि नेपाल सुपर लिग खेलेर अर्पण गृहनगर जान पाएका थिएनन् ।
सामाजिक संजालमा अर्पणले ‘आमा मलाई किन पर्खनु भएन’ भनेर लेखेका छन् ।
जेठ १ गते समापन भएको फ्रेन्चाईज सुपर लिगमा अर्पणले ललितपुर सिटी एफसीको प्रतिनिधित्व गरेका थिए । कुल ८ खेल खेलेका उनले चार खेलमा क्लिन सिट राखेका थिए ।
अर्पणकै नेतृत्वमा नेपालले भुटानमा यु–१८ साफ च्याम्पियनसिपको उपाधि हात पारेको थियो । राष्ट्रिय टोलीको क्लोज क्याप सम्म रहेका उनले उमेर समूहको यू२३ टिमको भने प्रतिनिधित्व गरिसकेका छन् ।
घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा नेपालले स्वर्ण पदक जित्दा अर्पण टोलीका प्रतिनिधि थिए ।