काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले कोभिड-१९ संक्रमण ब्यवस्थापन तथा संक्रमित खेलाडी, प्रशिक्षक, निर्णायक र खेल पत्रकारहरुको सहयोगका लागि फाईट अगेन्स्ट कोभड-१९ अभियान सुरु गरेको छ ।
कोभिड संक्रमणबाट निधन भएका क्योकुसिन करातेका अन्तराष्ट्रिय खेलाडी, प्रदेश २ क्योकुसिन कान कराते संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक तथा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य एवं प्रदेश नं. २ का संयोजक स्व. बैजनाथबाबा यादवको परिवारलाई नगद ३० हजार दिने निर्णय सहित अभियानको सुरुवात गरेको हो ।
‘विश्वभर फैलिएको कोभिडले महामारीको रुपमा सवै क्षेत्रलाई अस्तब्यस्त बनाएको छ । यस परिवेशमा जीवनभर राष्ट्रका लागि योगदान दिएका र भविष्यमा नेपालको पहिचान बनाउन सक्ने अधिकांश खेलाडीहरु, प्रशिक्षक, निर्णायक तथा खेलपत्रकारहरु पनि यस महामारीबाट अछुतो रहन सकेको छैन । खेल क्षेत्रका कैयन ब्यक्तित्वहरुलाई हामीले गुमाई सकेका छौंं र कतिपय यसको संक्रमणमा परि रहेका छन् । तसर्थ त्यस्ता ब्यक्तिहरुका लागि हामीले सहयोग गर्ने निर्णय सहित अभियान संचालन गर्ने निधो गरेका छौ’ नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश अध्यक्ष दीपक गुरुङले बताए ।
अभियान अन्तरगत पहिलो चरणमा काठमाडौं उपत्यका भित्र रहेका खेलाडी, प्रशिक्षक, निर्णायक तथा खेलपत्रकारहरु कोभिड संक्रमण भई घरमानै क्वारेन्टाईन वा आईसोलेशनमा रहेकाहरुलाई डाक्टर परामर्श, औषधी तथा भिटामिनहरुको प्रवन्ध गर्ने, अत्यावश्यक परेको खण्डमा यथासक्य रुपमा आर्थिक सहयोग समेत गर्ने अध्यक्ष गुरुङले बताएका छन् ।
यस अभियानलाई ब्यवस्थित गर्नका लागि काठमाडौं खेलकुद समाजको संयोजनमा एक मेडिकल टिमको समेत गठन गरिएको छ । उक्त टिमले संक्रमित भई घरमा रहेका खेलाडी, प्रशिक्षक, निर्णायक र खेल पत्रकारहरुको स्वास्थ्य चेकजाँच गर्ने, आवश्यक भिटामिन तथा औषधी उपचारको प्रवन्ध गर्ने र आवश्यक परेको खण्डमा घरमानै पिसिआर परिक्षणको समेत ब्यवस्थापन गर्ने अध्यक्ष गुरुङले बताए ।
अभियानको सुरुवात पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुरमा गरिने छ । ओलम्पिक, एशियन, साग तथा राष्ट्रिय खेलकुदमा मेडल प्राप्त गरेका खेलाडी, प्रशिक्षक, निर्णायक र खेलपत्रकारहरुले सेवा प्राप्त गर्नेछन् ।