काठमाडौं । नेपाल ट्राइथोलनको संघले आफ्ना प्रशिक्षकहरुका लागि अनलाईन कोर्ष सुरु गरेको छ ।
फिजियोलोजी अफ ट्राइथोलन ट्रेनिङ- युथ एण्ड जुनियर नामक कोर्षमा सहभागीलाई संघका महासचिव एवं प्रमुख प्रशिक्षक युवराज सुनुवारले प्रशिक्षण प्रदान गर्ने छन् ।
ट्राइथोलनको प्राविधिक पक्षलाई समेटेर कोर्ष संचालन गरिएको हो । करिब ५ हप्ता संचालन हुने कोर्षमा ट्राइथोलनका १५ प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरिने छ ।
कोर्षमा शारीरिक परिपक्वता, युवा खेलाडीहरुको शारीरिक र शारीरिक बिशेषताहरु, प्रशिक्षण क्षमताको संवेदनसिल अवधी, एरोबिक सहनशिलता, शक्ति सहनशिलता, गति विकास र रेस बिशेषका बिषयमा अध्यापन गराईने छ ।
विश्व ट्राइथोलन संघले हालै संचालन गरेको फिजियोलोजी अफ ट्राइथोलन ट्रेनिङ- युथ एण्ड जुनियर नामक ६ हप्ते कोर्षमा सहभागी भएका महासचिव एवं प्रमुख प्रशिक्षकले आफुले प्राप्त ज्ञानलाई नेपाली प्रशिक्षकहरुलाई प्रदान गर्न लागेका हुन् ।
कोभिडका कारण घरमै बस्न बाध्य प्रशिक्षकहरुलाई सक्रिय जीवनमा ल्याउने र समयको सदुपयोग गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको यस कोर्षले नेपाली प्रशिक्षकमा युवा र जुनियर खेलाडीहरुको विभिन्न क्षमतालाई कसरी बिकास गर्न सकिन्छ भन्ने ज्ञान प्राप्त गर्न सहज हुने र ट्राईयाथलन खेलको विकास गर्न मद्धत पुग्ने महासचिवलाई विश्वास रहेको छ ।