काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालका फुटसललाई एकिकृत गर्ने भएको छ । फुटसललाई व्यबसायीकरण गर्न र ब्यवस्थित बनाउन एन्फाले देश भरमा फुटसललाई एकिकृत गर्ने भएको हो ।
एन्फा अन्तर्गत रहेको फुटसल कमिटिले देश भरका फुटसलहरुलाई २० भित्र आफ्नो फुटसलको ठेगाना पठाउन बुधबार सूचना जारी गरेको छ । हाल देशभरी ११० भन्दा बढी फुटसल संचालनमा रहेको छ ।
फुटसल कमिटिले देश तथा बिदेशमा हुने प्रतियोगितामा सहभागी हुने गरी व्यवस्थित गर्नको लागी सूचना जारी गरेको हो ।
फुटसल समितिका संयोजक दावा लामाले सूचना जारी गरेकै दिनबाट फुटसल संचालकहरुले डाटा पठाउन सुरु गरेको खेलपाटीलाई जानकारी गराए ।
संयोजक लामाले देशभरबाट आएका इमेल र ठेगाना अनुसार समितिले कार्ययोजना अगाडी बढाउने बताए ।
'एन्फाले यसका लागि कार्यविधि, कार्यनिति र नियमावली बनाई सकेको छ,' संयोजक लामाले भने, 'अबको २० दिनपछि इमेलमा आएका सबै फुटसललाई राखेर कसरी अगाडी बढ्ने भन्ने बिषयमा कुराकानी हुनेछ ।'
एन्फाको फुटसल कमिटि बाहेक नेपालमा अन्य दुई फुटसल संघ रहेका छन् । एक संघ राष्ट्रिय खेलकुद परिषदसंग आबद्द रहेको छ भने अर्को नेपाल फुटसल व्यवसायी संघ रहेका छन् ।
नेपालमा भएका फुटसलमध्ये सबैभन्दा बढी काठमाण्डौमा रहेको छ । यस्तै प्रदेश ७ र २ नम्बरमा कुनै पनि फुटसल नरहेको एन्फाले जनाएको छ ।