काठमाडौं । नेपाल तेक्वान्दो महासंघ(एनटिएफ) का अध्यक्ष दिनेश शर्माले नेपाल प्रहरी र पत्रकारलाई व्यक्तिगत रुपमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञामा प्रहरी र सञ्चारकर्मीले अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी अध्यक्ष शर्माले स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
शर्माले मंगलबार करिब २० हजार मूल्य बराबरको स्वास्थ्य सामग्री इलाका प्रहरी कार्यालय निजगढमा एक कार्यक्रमका बिच प्रदान गरे ।
महासंघका अध्यक्ष शर्माले इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीलाई निजगढ अन्तर्गतको सिंगौंल र रतनपुरी अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरीका लागि आवश्यक मास्क र सेनिटाइजर हस्तान्तरण गरे ।
साथै प्रनी चौधरीले उपस्थित पत्रकार एवं चौकी इन्चार्जहरुलाई उक्त मास्क र सेनिटाइजर वितरण गरेका छन् ।
निजगढ ३ बारा निवासी समेत रहेका अध्यक्ष शर्माले २०७२ बैशाख १२ को विनासकारी महाभुकम्प र २०७६ सालको चैतमा गरिएको लकडाउनको अवधिमा पनि उद्धार,राहत र खाद्य सामग्री वितरणगरी सामाजीक उत्तरदायित्व निर्वाह गर्दै आएका छन् ।