तातोपानी । विभागीय टिम नेपाल एपीएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सिन्धुपाल्चोकको भोटेकोशीमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
फाइनल पुग्ने क्रममा एपीएफले आर्मीमाथि ३०-२८,२२-२५,२५-१९ र २५-२३ को सेटमा जित निकाल्यो ।
खेलमा आर्मीकी सोफिया पुन प्लेयर अफ दि म्याच चुनिईन् । उनले ट्रफी र नगद २ हजार प्राप्त गरिन् ।
अब एपीएफले उपाधिका लागि न्यु डायमण्ड स्पोर्ट्स क्लबसँग खेल्नेछ । तेस्रो स्थानको लागि आर्मीले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमण्ड यस अघि नै फाइनल पुगिसकेको छ ।
न्यु डायमण्डले पुलिसमाथि २५-१०, १९-२५, २५-१५ र २५-१९ को सेटमा जित निकालेको थियो ।
भोटेकोशी गाउँपालिकाको आयोजना जारी प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले २ लाख पुरस्कार रकम प्राप्त गर्ने छन् ।
त्यस्तै तृतीय हुने टोलीले १ लाख र चौथो हुनेले ५० हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछ ।
यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिवेरो, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ७–७ हजार प्राप्त गर्ने छन् ।