तातोपानी । न्यु डायमण्ड स्पोर्ट्स क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सिन्धुपाल्चोकको भोटेकोशीमा शुक्रबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमण्ड उपाधि नजिक पुगेको हो ।
फाइनल पुग्ने क्रममा न्यु डायमण्डले पुलिसमाथि २५-१०, १९-२५, २५-१५ र २५-१९ को सेटमा जित निकाल्यो ।
न्यु डायमण्डको जितमा उत्कृष्ट खेलेकी प्रतिभा माली प्लेयर अफ दि म्याच चुनिईन् । उनले ट्रफी र नगद २ हजार प्राप्त गरिन् ।
यस्तै खेलपछि भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले डायमण्डकी बाल्मिका आचार्यलाई व्यक्तिगत ५ हजार र सलिना श्रेष्ठलाई समाजसेवी ध्रुब पौडेलले ५ हजार नगद प्रदान गरे । उनीहरुको खेल मन पराएर दुबै व्यक्तिगततर्फबाट पुरस्कृत गरेका हुन् ।
अब न्यु डायमण्डले फाइनलमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।
भोटेकोशी गाउँपालिकाको आयोजना जारी प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले २ लाख पुरस्कार रकम प्राप्त गर्नेछ ।
त्यस्तै तृतीय हुने टोलीले १ लाख र चौथो हुनेले ५० हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछ ।
यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिवेरो, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ७–७ हजार प्राप्त गर्ने छन् ।