काठमाडौं। आईएफकेकेका हरि दनुवार प्रथम राष्ट्रिय पुरुष तथा महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ६० केजीमा च्याम्पियन बनेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको फाइनलमा हरिले आईकेकेएफका बलराम घिसिङलाई पराजित गरे । आईएफकेकेका रमेश दनुवार तेश्रो भए ।
इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५५ केजीमा क्योकुसिन वज्रका महेश भुजेलले स्वर्ण जिते । उनले फाइनलमा आईकेएफएफ जोरपाटीका आङनिमा शेर्पालाई हराए । सो क्योकुसिनका काजु लामा तेश्रो बने ।
पुरुष २५ केजीमा धिकी तामाङ पहिलो, सुदीप लामा दोश्रो र समिर लिम्बू तेश्रो स्थानमा रहे । शीर्ष तीन स्थान हात पार्ने सबै आईकेकेएफ जोरपाटीका हुन् । पुरुष ३५ केजीमा एयरपोर्ट डोजाका अनमोल माझीले शीर्ष स्थान हात पारे । उनले फाइनलमा सो क्योकुसिनका त्रिलोक ब्लोनको चुनौती समाप्त पारे । सो क्योकुसिनकै सुजन तामाङले तेश्रो स्थानमा चित्त बुझाए ।
महिला ४५ केजीमा एपीएफकी दीपा शाहीले स्वर्ण चुमिन् । फाइनलमा दीपाले आईएफकेकेकी श्रेया राईलाई पाखा लगाइन् । आईएफकेकेकी सरस्वती बोहरा तेश्रो भइन् ।
विजेतालाई प्रदेश सांसद रत्नप्रसाद ढकाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको नेपाल क्योकुसिन कराते संघ वज्रका अध्यक्ष जगतप्रसाद गौचनले उद्घाटन गरेका थिए । एकदिने प्रतियोगितामा ५३ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।